जनकपुरधाम । नेपाल र भारतका दुई प्रमुख धार्मिक सहर अयोध्या र जनकपुरधामलाई जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवा सञ्चालनमा आएसँगै पहिलो रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।
अयोध्याबाट सोमबार मध्याह्न साढे १२ बजे प्रस्थान गरेको उक्त रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम स्टेसनमा प्रवेश गरेको हो । रेलमार्फत आइपुगेका यात्रुहरूलाई नेपाल र भारतको राष्ट्रिय झन्डा फहराउँदै फूलमाला लगाएर भव्य स्वागत गरिएको छ ।
यसअघि भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यम (भिडिओ कन्फरेन्सिङ) बाट उक्त रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले ‘सरयु–कमला एक्सप्रेस’ ले दुई देशबिचको पवित्र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले अयोध्याको दर्शन गर्न आउने श्रद्धालुहरूलाई जनकपुरधाम पुगेर माता सीताको दर्शन गर्न समेत यो रेल सेवाले निकै सहज बनाउने उल्लेख गर्नुभएको थियो ।

