कञ्चनपुर । परम्परागत अन्नबालीको सट्टा सागसब्जी, नर्सरी तथा च्याउखेतीबाट मनग्य मुनाफा हुन थालेपछि कञ्चनपुरका कृषकहरू व्यावसायिक कृषि उद्यमतर्फ केन्द्रित भएका छन् । कम लागतमा उच्च प्रतिफल मिल्न थालेसँगै स्थानीय किसानहरूले आधुनिक र व्यावसायिक खेतीलाई नै आफ्नो मुख्य आयआर्जनको आधार बनाएका हुन् ।
भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले सुरुवाती चरणमा एक कट्ठा जमिनमा रु ५०० मात्र लगानी गरी तरकारीखेतीको थालनी गरेका थिए । पहिलो उत्पादनबाटै रु १० हजार हात परेपछि उत्साहित बनेका उनले क्रमशः खेतीको क्षेत्रफल बढाउँदै लगे । विसं २०७२ देखि व्यावसायिक रूपमा तरकारी उत्पादनमा सक्रिय खड्काले हाल तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी लगाउँदै आएका छन् ।
धान र गहुँको तुलनामा तरकारीखेतीबाट तीन गुणासम्म बढी नाफा हुने भएकाले यसैलाई मुख्य पेसा बनाएको खड्काको अनुभव छ । कोरोना महामारीका बेला भारतमा रोजगारी गुमाएर फर्किएका दुई छोरासमेत साथमा जोडिएपछि उनले खेतीलाई अझ बृहत् बनाएका हुन् । हाल सबै खर्च कटाएर तरकारी बिक्रीबाट वार्षिक रु २५ लाखसम्म खुद बचत हुने गरेको उनी बताउँछन् । यही आम्दानीबाट रु २० लाख खर्चेर एक छोरालाई वैदेशिक रोजगारीमा पठाएको, पक्की घर निर्माण गरेको तथा ढुवानीका लागि तीन वटा मोटरसाइकल र ५० प्रतिशत अनुदानमा एउटा अटोसमेत खरिद गरेको उनले जानकारी दिए ।
यस्तै, भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्दले रु ५० हजार पुँजीबाट सुरु गरेको बिरुवा उत्पादन व्यवसायलाई विस्तार गरी वार्षिक रु ६० लाख बराबरको कारोबार गर्ने स्तरमा पुर्याएका छन् । एक दशकअघि थालनी गरेको नर्सरी व्यवसायबाट सम्पूर्ण खर्च कटाएर वार्षिक रु १५ लाखसम्म मुनाफा आर्जन हुने गरेको चन्दले बताए ।
विगतमा कुटानीपिसानी मिल सञ्चालन गर्दा विद्युत् आपूर्ति, कामदार अभाव र ऋणको चाप बढेपछि उनले विकल्पका रूपमा नर्सरी व्यवसाय रोजेका थिए । हाल उनले आफ्नो आधा बिघा र भाडामा लिएको डेढ बिघा गरी कुल दुई बिघा जमिनमा फलफूल तथा सजावटका बिरुवा हुर्काइरहेका छन् । उनको नर्सरीमा हाल ४५ प्रजातिका बिरुवा उपलब्ध छन् भने प्रतिगोटा रु २०० देखि रु १० हजारसम्ममा बिक्री हुने गरेको छ ।
यसैगरी, श्रीमान्को निधनपछि आर्थिक अभाव टार्न अरूको भर पर्नुपर्ने बाध्यता आइपरेपछि भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले आत्मनिर्भर बन्न च्याउखेतीलाई रोजिन् । सात वर्षअघि सामान्य जानकारीकै भरमा च्याउ उत्पादन थालेकी थापाले अहिले पाँच वटा फार्ममार्फत बाह्रै महिना च्याउ उत्पादन गर्दै आएकी छन् ।
अरूसँग हात फैलाउनुभन्दा आफ्नै पौरखले बाँच्ने अठोटका साथ व्यवसायमा होमिएकी थापाको च्याउखेतीमा लगानी कटाएर करिब ५० प्रतिशत नाफा बच्ने गरेको छ । वार्षिक एक हजार ५०० केजी च्याउ बिक्री गरी करिब रु दुई लाख आम्दानी गर्दै आएकी उनले यही कमाइबाट घरखर्च र दुई छोराको शिक्षादीक्षा सहज रूपमा धानिरहेकी छन् । व्यवसायबाट बचेको रकमसमेत उनले पुनः उत्पादन विस्तारमै लगाउँदै आएकी छन् ।
कृषि कर्ममा लाग्न उमेर बाधक बन्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका–११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगीले प्रस्तुत गरेका छन् । विसं २०५४ मा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर गाउँ फर्किएका पूर्वप्रहरी डाँगीले त्यसयता तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन् ।
सुरुमा १०० ग्राम धनियाको बीउ छरेर खेती थालेका उनले पहिलो उत्पादनबाटै रु एक हजार २०० आम्दानी गरेका थिए । त्यसपछि मौसमी तथा बेमौसमी तरकारीखेती विस्तार गरेका डाँगीले हाल पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत बाली लगाएका छन् । यसबाट उनले वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी लिँदै आएका छन् ।

