काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले उक्त आदेश दिँदै सरकारलगायत विपक्षीहरूसँग लिखित जवाफ माग गरेको हो । अदालतले रिट निवेदकको मागअनुसार आदेश किन जारी गर्नु नपर्ने हो भन्ने आधार र कारण खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ ।
अन्तरिम आदेशको विषयमा भने दुवै पक्षबीच छलफल आवश्यक रहेको ठहर गर्दै सर्वोच्चले आगामी मंसिर १४ गते पेसी तोकेको छ ।
आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । सार्वजनिक पदाधिकारीको नियुक्ति तथा योग्यतासम्बन्धी मापदण्ड, २०७१ बमोजिम उनको आवश्यक योग्यता नपुगेको जिकिर रिटमा गरिएको छ ।
गत असोज ३० गते सरकारले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको थियो र उनले मंसिर २ गतेदेखि पदभार सम्हालेकी थिइन् ।

