काठमाडौँ । औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा संलग्न गरी सामाजिक सुरक्षा कोषमा दर्ता हुने योगदानकर्ताको कुल सङ्ख्या ३३ लाख ४ हजार ८६ पुगेको छ । कोषले नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का सन्दर्भमा सार्वजनिक गरेको प्रगतिविवरणमार्फत यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कोषको विवरणअनुसार हालसम्म विभिन्न योजनामार्फत कुल एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ । योगदानकर्ताको विश्वास, सरकारी सहयोग र कर्मचारीको सक्रियताका कारण कोषप्रति आकर्षण र आबद्धता क्रमशः बढ्दै गएको कोषले जनाएको छ । हालसम्म औपचारिक क्षेत्रका ५ लाखभन्दा बढी श्रमिकसँगै वैदेशिक रोजगारीमा कार्यरत श्रमिक तथा अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिक कोषको दायरामा आएका छन् ।
विभिन्न सुविधा योजनाअन्तर्गत हालसम्म २३ अर्ब ९० करोड ७५ लाख रुपैयाँ भुक्तानी गरिसकिएको कोषले जानकारी दिएको छ । वृद्ध अवस्था सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, औषधोपचार, स्वास्थ्य तथा मातृत्वलगायतका योजनाबाट लाभग्राहीलाई सुविधा प्रदान गरिँदै आएको छ । स्वास्थ्य सेवामा पहुँच अझ सहज बनाउन ११७ वटा स्वास्थ्य संस्थाको सञ्जाल विस्तार गर्ने तयारी कोषले अघि बढाएको छ भने नगदरहित उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि कार्यान्वयनको चरणमा रहेको छ ।
सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउने क्रममा कोषको सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग जोडेर तथ्याङ्क आदानप्रदान थालिएको छ । आगामी दिनमा घरेलु कामदार, कृषक, ट्रेड युनियनमा आबद्ध श्रमिक, स्वरोजगार तथा वैदेशिक रोजगारीका श्रमिकलाई समेत कोषमा समेट्ने योजना कोषले बनाएको छ । साथै महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकतामा राखिने कोषले स्पष्ट पारेको छ ।
दाबी तथा भुक्तानी प्रक्रियालाई थप सरल, छिटो र डिजिटल बनाउने, सेवा विस्तार गर्ने तथा सङ्कलित रकमलाई सुरक्षित एवं प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्ने प्रतिबद्धता कोषले व्यक्त गरेको छ । यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको छ ।

