बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बिहीबार ५ दिनको म्याद थप गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अनुसन्धानका लागि अदालतले ५ दिन म्याद थप गरेको जानकारी दिए ।
यस अघि असोज २४ गते काठमाडौं जिल्ला अदालतले नेपालका क्रिकेटर लामिछानेलाई बलात्कारको अभियोगमा अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।
उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको झण्डै एक महिनापछि उनी नेपाल फर्किएका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।