अर्घाखाँची असोज २७। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित भएका छन् ।
पहिरोको जोखिमका कारण ४१ परिवारका १ सय ६१ जना विस्थापित भएको वडाध्यक्ष चुरबहादुर केसीले स्थानीय चन्द्रप्रभा माविको भवनमा शरण लिएको बताए ।
पहिरोले गाउँका केही घरमा क्षति पुगेको छ भने कतिपय उच्च जोखिममा छन् ।
पूरै बस्तीलाई सुरक्षित स्थानमा सार्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । अर्घाखाँची उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले पहिरो प्रभावितलाई राहत वितरण गरेका छन् ।
पहिरोका कारण घरबारविहीन भएका भुजुङ्गेका दलित परिवारलाई २० थान कम्बल र २० थान म्याटसमेत उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाका अध्यक्ष कुशल भुसालले बताए ।
यसैबीच जिल्लामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
जिल्लामा पहिरोका कारण हालसम्म १११ परिवार विस्थापित भएका छन् । (RSS)