भैरहवा असोज २९। लुम्बिनी विकास कोष (एलडीटी) ले आफ्ना विद्युतीय बसहरूलाई छठसम्म ‘परीक्षण चरणमा’ राख्ने निर्णय गरेको छ, अर्थात् कम्तिमा १६ दिनसम्म सर्वसाधारणले निःशुल्क यात्रा गर्न सक्नेछन् ।
निःशुल्क सेवाप्रति सर्वसाधारणको उत्साह देखिएकाले ट्रष्टले बिहीबार परीक्षण लम्ब्याउने निर्णय गरेको एलडीटीका कोषाध्यक्ष धुण्डीराज भट्टराईले बताए ।
ट्रष्टले दशैंका लागि असोज १३ गतेदेखि लुम्बिनी आसपासका विभिन्न रुटमा धम्मयात्राको नामले निःशुल्क बस सेवा सुरु गरेको थियो । एलडीटीका कार्यकारी सदस्य तथा विद्युतीय बस परीक्षण इकाईका संयोजक विश्वराज पौडेलका अनुसार बिहीबारसम्म ९ हजार ७१२ जनाले निःशुल्क बसमा यात्रा गरेका छन् ।
एलडीटीले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा लुम्बिनी–रामग्राम, लुम्बिनी–बुटवल, लुम्बिनी–देवदह, लुम्बिनी–बेलहिया, लुम्बिनी–तिलौराकोट र लुम्बिनी–रामपुर कालोनी रुटमा बस सञ्चालन गर्दै आएको छ ।
सुरक्षा निकायले ट्रष्टलाई चालक र सहचालक उपलब्ध गराएको छ । बस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले ट्रष्टसँग पनि समन्वय गरेको छ ।