कास्की । गण्डकी प्रदेशको भौगोलिक विकटताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न चुनौती थपेको छ ।
मनाङ, मुस्ताङ र उत्तर गोरखामा हिमपात सुरु भएको छ । हिमपात हुने ठाउँमा चुनौती देखिएको प्रदेश सुरक्षा समन्वय समितिले जनाएको छ । फलस्वरूप गोरखाका २२, मनाङका ५ र म्याग्दीका ३ गरी ३० मतदान केन्द्रबाट हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्नुपर्ने बाध्यता छ ।
पोखरामा शुक्रबार भएको प्रदेशस्तरीय सुरक्षा बैठकमा पनि राजनीतिक दल र उम्मेदवारबीचको अस्वस्थ प्रतिस्पर्धालाई चुनौतीका रुपमा लिएको थियो । निर्वाचन कर्मचारीको सुरक्षा, कर्मचारीको प्रशासनिक त्रुटि, भौगोलिक कठिनाइ र मौसमका कारण मतपेटिका ढुवानीमा कठिनाइ पनि निर्वाचन सुरक्षालाई चुनौतीका रुपमा औंल्याएको छ ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभाका लागि १९६ उम्मेदवार र प्रदेश सभाका लागि २३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले इजाजतप्राप्त हतियार अझै नपुगेकाले चुनौती बढेको बताए । “लाइसेन्स प्राप्त करिब १,८०० हतियार मात्र बुझाइएको छ, बाँकी हतियार आइसकेको छैन,” उनले भने। ७२ घण्टा अगावै नाका सिल गर्ने र दुई साताअघि मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।
समितिका सदस्य–सचिव बद्रीनाथ अधिकारीले निर्वाचनका लागि प्रदेशमा करिब १८ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।
गण्डकीको गोरखाको रुइला भञ्जाङ, नवलपुरको भन्सार नाका र मुस्ताङको कोरोला नाका सिल गरिने भएको छ । तर, कोरोना भाइरसको महामारीपछि उत्तरी नाका बन्द छ ।
सो अवसरमा गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकायलाई सबै सतर्कता अपनाउन निर्देशन दिए । बैठकमा १० जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।
मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा रणनीति, शक्ति र चुनौतीका बारेमा छलफल गर्न बैठक आयोजना गरिएको हो । (RSS)