तराई-मधेसमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भद्रपुर, पोखरा, धनगढी, सुर्खेत र लुम्लिङटारबाहेकका विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान प्रभावित भएको हो ।
तराईका विमानस्थलमा भिजिबिलिटी कम भएकाले अझै केही दिन आन्तरिक उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । भिजिबिलिटी कम भएकाले आज बिहानैदेखि तराईका अधिकांश विमानस्थलको उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
आन्तरिकतर्फ दैनिक करिब तीनसय उडान हुन्छन् । बुद्ध एयरको सबैभन्दा बढी दुईतर्फी करिब एक सय ५० उडान हुन्छ । यती एयरलाइन्सको दैनिक ५८ उडान हुनेगरेको छ । यस्तै आन्तरिक उडानमा श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सले पनि विभिन्न गन्तव्यमा उडान गर्छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।
हाल ११ वटा हेलिकप्टर कम्पनीसहित २० एयर अपरेटर कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।
तराईका केही स्थानमा आज मौसम बदली भई पहाडी भेगका अधिकांश स्थानमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी, लुम्बिनी, प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री र न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । (RSS)