बागलुङ । गत वर्षको तुलनामा बागलुङ जिल्लामा सुन्तला उत्पादनमा २० प्रतिशतले वृद्धि भएको छ ।
यस वर्ष जिल्लाका किसानले करिब चार हजार ३८० मेट्रिक टन सुन्तला उत्पादन गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।
उनका अनुसार गत वर्ष २० करोडको तुलनामा यस वर्ष किसानले २४ करोडको सुन्तला उत्पादन गरेका छन् । यो वर्ष उपयुक्त मौसमले उत्पादन बढाएको उनले बताए ।
त्यसैगरी, प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला क्षेत्र घोषणा भएपछि पछिल्ला वर्षहरूमा सुन्तलाको क्याचमेन्ट क्षेत्र पनि बढेको छ ।
‘बाग्लुङ मध्यपहाडी क्षेत्रमा पर्ने र सुन्तला उत्पादनका लागि यो उपयुक्त भूगोल हो । यहाँको मौसम र माटो सुन्तला खेतीका लागि उपयुक्त छ,’ भट्टराईले भने ।
कृषि ज्ञान केन्द्रले सुन्तला खेतीबाट राम्रो उत्पादन लिन सुन्तला कृषकलाई औषधि, मल, तालिम र प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।
बागलुङ नगरपालिका, बिहुन, टित्याङ, भकुण्डे, लेखनी, जैमिनी, ढामेक र सरकुवा जिल्लामा सुन्तला उत्पादन गर्ने पकेट क्षेत्र हुन्।