स्याङ्जा । सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा सुन्तलाको उत्पादन ह्वात्तै बढेको छ ।
यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष १ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड रुपैयाँ भित्रिएको उनले बताए ।
‘यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ,’ उनले भने । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
स्याङ्जाको सुन्तला काठमाडौं, बुटवल, नारायणघाट, पोखरालगायतका बजारमा पुगेको छ ।
पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका, फेदीखोला, बिरुवा, अर्जुन चौपारी, आँधीखोला र हरिनास गाउँपालिका सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हुन् ।