काठमाडौं । मन्त्रालय भागवण्डामा सहमति जुटाउन शक्ति साझेदार दलको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
यसअघि सत्तारुढ दलहरु विश्वासको मत लिएर मात्र सरकार पूरा गर्न सहमत भएका थिए । प्रधानमन्त्रीको विश्वासको मतसँगै हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रिपरिषद् विस्तारलाई लिएर दुई नेताबीच केही गृहकार्य भइरहेको जानकारी दिएको छ । सचिवालयका अनुसार शक्ति साझेदार दलहरुबीच आज थप छलफल हुनेछ ।
मन्त्रालय संख्या र विभाग विभाजनका लागि सत्ता साझेदार दलहरूबीच अनौपचारिक छलफल पनि चलिरहेको छ । संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्य हुने भएकाले साझेदार दलको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँड गर्ने तयारी भइरहेको छ ।