काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको तीन सातापछि सत्तारुढ दलले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाएको छ । सोमबार मन्त्रालय पुनर्गठन सम्पन्न गरेको पार्टीले मंगलबार मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयमा पठाउँदैछन् ।
दलहरुबीच मन्त्रालयको बाँडफाँड टुंगो लागेकाले मंगलबार मन्त्रिपरिषद् विस्तार गरिने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
माओवादीले सञ्चार, संघीय मामिला तथा पर्यटन मन्त्रालय पाएको छ । माओवादीका नारायणकाजी श्रेष्ठले यसअघि भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ। रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ। राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास तथा खेलकुद मन्त्रालय पाएको छ ।
वितरणका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिन सहमत भएको छ । एमालेले यसअघि नै अर्थ मन्त्रालय लिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमतमा गएको छ । जास्पा र नागरिक प्रतिरक्षाका लागि वन, कानून तथा खानेपानी मन्त्रालय छुट्याइएका छन् ।