झापा । झापामा यस वर्ष आलु खेती क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा २ सय ५ हेक्टरमा आलु खेती बढेको जानकारी दिए । गत वर्ष जिल्लामा १५ हजार ७ सय ८० हेक्टरमा आलु खेती भएको थियो भने यस वर्ष १५ हजार ९ सय ८५ हेक्टरमा आलु खेती गरिएको छ ।
गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उनको भनाइ छ ।
क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो ।
बुद्धशान्ति, कमल, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले आलु खेतीको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएका छन् । बिर्तामोडले विगत तीन वर्षदेखि आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडारियाले किसानलाई आलुको बीउ, आवश्यक औषधि र परामर्श उपलब्ध गराइएको बताए ।
जिल्लामा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भईरहँदा पनि आलुको आयात बढेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले चालू आर्थिक वर्षमा कंकरभिट्टाबाट हालसम्म १३ करोड ४० लाख ५५ हजार ४५५ किलो आलु आयात भएको जानकारी दिए । गत वर्ष कंकरभिट्टा नाकाबाट १ करोड २१ लाख ६४ हजार २२ किलो आलु आयात भएको थियो । मेची भन्सार कार्यालयका अनुसार गत वर्षको तुलनामा १ लाख २९१ हजार ४३३ किलो आलु बढी आयात भएको छ ।
काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा बढी आलु भारतबाट आयात हुने गरेको छ ।