काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले मधेस प्रदेशका शहीदप्रति आफूले कुनै अनादर नगरेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै माघ ५ गते संसद्मा मधेसका शहिदहरुप्रति आफूहरुले नउठदैमा अनादर नगरेको बताएका हुन्।
उनले भने, ‘हामीले त्यो विषयप्रति अनादर गरेको होइन। मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन। यसरी गलत प्रचार जानु हुँदैन। हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु। म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाईदैन।’
यस्तै उपप्रधामन्त्री लिङदेन भने, ‘तर संसदको एउटा मर्यादा हुन्छ। एउटा नियम हुन्छ र रुलिङ् सभामुखको चल्छ। कि त सभामुखले रुलिङ् गर्नुपर्यो कि त मेरो प्रधानमन्त्री उठनु पर्यो। त्यसकारण हामीले यो भ्रम नरहोस त्यो विषयप्रति अनादर गरेको होइन।’
उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी ईन्दिरा राना मगर र कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्।