काठमाडौं । कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुणकुमार चौधरीलाई पक्राउ परेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीलाई ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैद र बिगोको फैसला सुनाएको थियो ।
तत्कालीन बलिया गाविस–५ का महादेव बजगाईंले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै चौधरीविरुद्धमा २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । उक्त घटनामा अरुणसहित परशुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेर कैद र जरिवाना तोकिएको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।
अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।
चौधरीलाई तत्काल रिहा गर्न नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।