धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत नदिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस भएको हो ।
मंगलबार डिल्लीबजारमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् ।
डिल्लीबजार कारागारभित्र बसेको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अग्रसरतामा अध्यक्ष रञ्जिता श्रेष्ठ र सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरी सहभागी थिए । अध्यक्ष श्रेष्ठले राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने बताइन् । विश्वासको मत नदिने निर्णयसँगै सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का भएको छ ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ । संविधान अनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्नेछ ।
मुख्यमन्त्री रावलले भोलि (बुधबार) प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।