रुपन्देही । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु भएको छ ।
अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधासम्पन्न गराउने उद्देश्यले सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरिएको जनाइएको छ । सिटी स्क्यान खरिदका लागि लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराएको थियो । अस्पतालका अनुसार २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा सिटी स्क्यान खरिद गरी ल्याइएको हो ।
सिटी स्क्यान सेवा सुरु गर्ने भीम मुलुकका जिल्ला अस्पतालहरुमा पहिलो हो । भीम अस्पतालमा सिटी स्क्यान सेवा सुरुसँगै महंगो शुल्क तिरेर निजीमा जानुपर्ने बाध्यता आमनागरिकलाई हटेको छ ।
उक्त सेवाको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले शुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन लागि परेको जनाए । अस्पताल व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भण्डारीले जटिल अवस्था पनि भीमले यहाँको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट पहिचान दिने गरी काम गरेको जनाए । उनले आउने दिनमा अस्पताललाई मुलुकको उत्कृष्टमध्ये एक बनाउने गरी लागिपर्ने जनाए । सरकारी अस्पताललाई सुविधा सम्पन्न गराए सबै नागरिकलाई उपचारमा सहजता हुने उनको विश्वास छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले अस्पताल विस्तारै हरेक पूर्वाधारमा सम्पन्न हुँदै गएको जनाइन् । सिटी स्क्यान सेवा सुरुपछि महंगो खर्च तिरेर निजी अस्पतालहरु धाउनुपर्ने बाध्यता हटेको उनको भनाई छ । उनले विगत भन्दा अस्पतालमा विशेषज्ञसेवा थप गर्दै गएको जनाइन् । १९९० सालमा स्थापित भीम अस्पतालमा पछिल्लो समय पूर्वाधार, उपकरण र विशेषज्ञ सेवा थपिँदै गएको छ । यसले सरकारी अस्पतालप्रति आमनागरिकको विश्वास बढाउँदै लगेको छ ।
विगतमा इन्टनशिप र अहेव गर्न आउने चिकित्सकको भरमा चल्ने गरेको अस्पतालमा अहिले भने २६ बढी चिकित्सक उपलब्ध छन् । भीम अस्पतालको प्रयोगशालमा ब्लडकल्चर बाहेकको सम्पूर्ण परीक्षण उपलब्ध छ ।