काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै बाँयातर्फको इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज सुरक्षित दुबईतर्फ लागेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका हुन्। विमानले धादिङ धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रणमा लिएको हो।
तर पछि इन्जिनमा लागेको आगो निभेको र दुवै इन्जिनले काम गरिरहेको जानकारी दिएर गन्तव्यतिर लागेको पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी दिएका थिए।
चालकले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि विमानस्थलको धावनमार्ग खोलिएको थियो। त्यसैगरी आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए।