काठमाडौँ । हालै भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षले अतिक्रमण गरेको कालापानी लिपुलेक लिम्पियाधुरालाई बंगलादेश जाने बाटो सहज गरेमा भारतलाई छोड्न सकिने भन्ने अभिव्यक्ति, गैरसंबैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणिकरण र सरकारको नीति तथा कार्यक्रममा कैलालीको गेटामा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख भए पनि आ.ब. २०८०/०८१ को बार्षिक बजेटमा यस बारेमा कुनै कुरा उल्लेख नगरिएको बिषयलाई लिएर सुदूरपश्चिम प्रदेशमा बिरोधका आवाजहरु उठिरहेका छन् । सुदूरपश्चिमको बारेमा सरोकार राख्ने विभिन्न राजनीतिक दल तथा भातृसंगठनहरु, नागरिक समाज, विभिन्न संघसंस्था समेतले विरोधका आवाजहरु उठाईरहेका छन् । यसै क्रममा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले काठमाण्डौको माईतिघर मण्डलामा विरोध कार्यक्रम गरेकोछ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा भारतीयपक्षसंग कालापानी लिपुलेक लिम्पियाधुराका बारेमा के कसरी कुरा राखे त्यो बारेमा अझै सार्वजनिक नभए पनि भारतबाट फर्के पछिको स्वयं उनको भनाई हेर्दा भारत हुदै बंगलादेशसम्म पुग्ने बाटो सहज गर्ने र यसका बदलामा सधैंका लागि कालापानी लिपुलेक लिम्पियाधुरा भारतलाई सुम्पिने बारेमा छलफल भएको भन्ने अभिव्यक्ति नेपालको संविधानमा उल्लेखित संबैधानिक व्यवस्था विपरित भएकोले यस बिषयमा प्रचण्डको चर्को आलोचना भईरहेको छ । नेपालको संविधानको धारा २७४ मा प्रष्ट रुपमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुने गरि यो संविधान संशोधन गर्न सकिनेछैन भन्ने व्यवस्था छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीलद्धारा आयोजित काठमाण्डौको माइतिघर मण्डला सम्पन्न धर्ना कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव सुदूरपश्चिम प्रदेशका निवर्तमान ईन्चार्ज तथा कर्णाली प्रदेशका ईन्चार्ज लेखराज भट्ट, नेकपा एमाले केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्मा, पार्टी पोलिटव्युरो सदस्यद्धय गणेशसिंह ठगुन्ना र नारदमुनि राना, पार्टी केन्द्रिय सदस्यद्धय झपट रावल, सहदेब बोगटी, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य तारालामा तामाङ, सम्पर्क समन्वय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज हेमन्त जोशी, सम्पर्क समन्वय कमिटी सदस्य अनुप थापा, सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष दल बहादुर धामी, उपाध्यक्ष मान बहादुर साउद, सचिव रोशनदेव पन्त, उपसचिव ईमानसिंह बटाला र मनिषा भट्ट लगायत सदस्यहरु, ९ वटै जिल्ला सम्पर्क मञ्चका पदाधिकारी सदस्यहरु, अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी, सचिव दिपक धामी लगाएत नेताहरु कार्यकर्ताहरु समेतको उपस्थिती रहेको थियो । धर्नामा कालापानी लिपुलेक लिम्पियाधुरा साट्न पाईदैन, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि पर्याप्त बजेटको व्यवस्था गर जस्ता विभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु प्रर्दशन गरिएका थिए ।
कार्यक्रमको संचालन अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले गर्नुभएको थियो भने धर्ना पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष दल बहादुर धामीले वर्तमान सरकारले सुदूरपश्चिमलाई धोका दिएको, नीति तथा तथा कार्यक्रममा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनिए पनि बजेटमा नअटाउनु सुदूरपश्चिमलाई हेपेको, अपमान गरेको बताउनु भएको थियो । वर्तमान सरकार तथा गठबन्धनको रबैयाले जनता आजित भईसकेकाछन्, यसको प्रत्यक्ष मार नेपाली जनतामा परेको, महंगी, भ्रष्टाचार, राष्ट्रियता, स्वाधिनताको सवालमा नेकपा एमाले सडक र सदनबाट जनताका आवाजहरु बुलन्द गर्ने बताउनु भयो । भारतले बंगलादेश जोड्ने बाटोसंग कालापानी लिम्यिाधुरा लिपुलेकलाई साटेर सधैका लागि भारतलाई सुम्पने भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघात भएको गैरसंबैधानिक भएको बताउनु भयो । यो धर्ना कार्यक्रम केबल सांकेतिक मात्र भएकोले तत्काल बजेटमा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको व्यवस्था गर्न र कालापानीको बारेमा गैरसंबैधानिक बाक्यांश बोलेको कुरालाई सच्याउन माग गरिएको र नसच्याए थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताउनु भएको थियो ।