काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
मगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ । पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ ।