अर्घाखाँची । विकट भनेर चिनिने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१ शान्ति बगैचाको मुनीपट्टि अत्याधुनिक सेवासहितको २४ बेडको छाँया हस्पिटल प्राली सञ्चालनमा आएपछि बिरामी लाभान्वित भएका छन् ।
सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारकालागि बुटवल तथा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।
सामान्य रोगका बिरामीहरुको लागि पनि उपचारकालागि अर्घाखाँची बाहिर जानु पर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छायाँ हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदीपजंग केसीले बताउनुभयो ।
अर्घाखाँची जिल्लामा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको केसीको भनाइ छ । अस्पतालमा फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवासहितका सेवाहरु रहेका छन् । अस्पताल खुलेपछि सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटवल, पाल्पा, चितवन, काठमाण्डौलगायतका ठाउँमा जानु पर्ने बाध्यता हटेको छ ।
जटिल प्रकारका सुत्केरीको शल्यक्रिया समेत भइरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठले बताउनुभयो ।