काठमाडौं । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि निष्कर्षविहीन बनेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक निष्कर्षमा नपुगी सकिएको हो । यद्यपी आजको बैठकले कार्यादेशमा मध्यमार्गी बाटो खोजेर सहमति गर्ने सहमति भएको कार्यदलका सदस्य तथा रास्वपा सांसद शिशिर खनालले बताउनु भयो ।
खनालले मध्यमार्गी प्रस्तावका विषयमा छलफल गरिएको जानकारी दिए । “सहमतिमा टुंगो लगाउनुपर्छ भन्नेमा छौँ । सौहार्द छलफल भयो,” उनले भने, “केही प्रस्तावमा छलफल भएको छ । बीचको बाटोमा छलफल भइरहेको छ ।”
यता नेकपा एमालेबाट प्रतिनिधित्व गरेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सहमति गरेर सदनको अवरोध हटाउने विषयमा समझदारी बनेको बताए । ‘कुनै विषयमा आज हामी निष्कर्षमा पुगेनौं, सहमति गरेर विषयहरूलाई टुंग्याउने र सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ,’ बर्तौलाले भने।
यस्तै बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरु आफ्नो बटमलाइनबाट पछि नहटेको प्रष्ट पारे । यद्यपी मध्यमार्गी प्रस्ताव आएमा छलफल हुने बताएका छन् ।“
गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौँ,” कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकपछि भने, “हाम्रो बटमलाइनबाट टसमस छैनौँ ।”