काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।
यसअघिसम्म नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा बैठक हुँदै आएको भए पनि ‘जेनजी आन्दोलन’ का क्रममा सो भवनमा आगलागी भएपछि अधिवेशन सिंहदरबारस्थित संसद् सचिवालयमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरी सभाले श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची तय गरिएको छ ।
आगलागीपछि वैकल्पिक स्थानमा अधिवेशन सञ्चालन गर्नुपर्ने अवस्था आएकोले सुरक्षा, प्राविधिक र व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको सचिवालयले जनाएको छ ।
अधिवेशनमा सरकारका विधेयक, नीति तथा समसामयिक विषयमा छलफल अघि बढाइने अपेक्षा गरिएको छ ।



