काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ पाथीभरा माताको शरणमा परेका छन् । बालेन ताप्लेजुङको पाथीभरा दर्शन गर्न पुगेका हुन् ।
श्रीपञ्चमीको संयोग पारेर पाथिभरा पुगेका शाहले मुलुकको समृद्धि र आफ्नो चुनावी अभियानको सफलताका लागि प्रार्थना गरेको उनको सचिवालयले जनाएको छ। झापा-५ को मैदानमा उत्रिएका शाहले छिमेकी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर र इलामको भ्रमण गर्नुको राजनीतिक अर्थ देखिन्छ ।
बुधबार झापाको दमकबाट प्रस्थान गरेका शाहले यात्राका क्रममा स्थानीय बासिन्दा, युवा र बालबालिकासँग भलाकुसारी गरेका थिए । उनी काफ्ले पाटीबाट पैदलै उकालो चढेर बुधबार साँझ ताप्लेजुङको माथिल्लो फेदी पुगेका थिए । ‘चुनावी मैदानमा उत्रिएपछि आत्मिक शक्ति र जनस्तरको सद्भाव दुवै चाहिन्छ,’ शाहको सचिवालयका एक सदस्यले भने, ‘श्रीपञ्चमीको शुभ दिनमा माताको आशीर्वाद लिएर नयाँ ऊर्जाका साथ चुनावी मोर्चामा होमिने उहाँको संकल्प हो ।’



