बुटवल । ३१औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले आज जनयुद्धको उद्गमस्थल रुकुम पूर्वमा विशेष कार्यक्रम आयोजना गर्दैछ । दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार नै रुकुम पूर्व पुगिसकेका छन् ।
२०५२ फागुन १ गते सुरु भएको १० वर्षे जनयुद्धका प्रमुख नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वमा पुगेर यो दिवस मनाउन लागेका हुन्।
सहिद परिवारलाई सम्मान भूमे गाउँपालिका–२, खाबाङ बगरमा आज आयोजना हुने विशेष समारोहमा संयोजक प्रचण्डले रुकुम पूर्वका २५२ जना सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। उनले दिवसका अवसरमा सहिद तथा बेपत्ता परिवार, घाइते र अपाङ्गता भएका व्यक्तिहरूसँग पनि भेटघाट गर्नेछन्।
ऐतिहासिक स्थलहरूको भ्रमण कार्यक्रमअघि प्रचण्डले जनयुद्ध कालका केही ऐतिहासिक र चर्चित स्थलहरूको भ्रमण गर्ने तालिका छ:
-
महत गाउँ: जहाँ छापामारले तत्कालीन प्रहरी नायब उपरीक्षक (DSP) ठूले राईलाई नियन्त्रणमा लिएका थिए ।
-
लाबाङ गाउँ: जहाँ २०६१ माघमा बसेको बैठकले डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
जनयुद्धदेखि चुनवाङसम्मको यात्रा २०५२ फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीगढी र गोरखाको च्याङ्लीमा आक्रमण गरी सुरु भएको जनयुद्धले नेपालको राजनीतिमा ठुलो फेरबदल ल्याएको थियो । २०६२ असोजमा रुकुमको चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेपछि नै १२ बुँदे सहमति र शान्ति प्रक्रियाको ढोका खुलेको थियो ।
सोही ऐतिहासिक मार्गचित्रका आधारमा नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली स्थापना भएको हो ।



