अर्घाखाँची, ५ फागुन । अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी गम्भीर घाइते भएको एउटा चितुवाको उपचारका क्रममा मृत्यु भएको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीय बासिन्दाले अन्य वन्यजन्तुका लागि थापेको पासोमा परेर उक्त चितुवा घाइते भएको थियो।
घाइते अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले उद्धार गरी कार्यालय पुर्याएको थियो । तर, शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण सोमबार उपचारकै क्रममा चितुवा मरेको सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । आक्रोशित र घाइते चितुवाले आक्रमण गर्दा उनी घाइते भएका हुन्। श्रेष्ठको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको वन कार्यालयले जनाएको छ ।



