काठमाडौँ । आगामी निर्वाचनका लागि गोरखाको राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण मोड देखा परेको छ ।
डा. बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । यसअघि गोरखा–२ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएर मौन रहेका डा. भट्टराईको यो कदमले जिल्लाको चुनावी अंकगणितलाई रोचक बनाएको छ ।
प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीका अनुसार पार्टीले प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरूलाई सघाउने नीति लिए पनि समानुपातिकतर्फ भने आफ्नै निर्वाचन चिह्न ‘आँखा’ मा मत माग्ने निर्णय गरेको छ । यस निर्णयसँगै गोरखामा कांग्रेसको पल्ला भारी हुने आकलन गरिएको छ । उम्मेदवारी फिर्ता लिएपछि बाबुरामले कुन शक्तिलाई काँध थाल्छन् भन्ने अन्योल चिर्दै अन्ततः उनले लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिने संकेत दिएका हुन् ।
यो निर्णय आउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कविन्द्र बुर्लाकोटी र नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले डा. भट्टराईको साथ पाउनेमा ठूलो विश्वास व्यक्त गरेका थिए । दुवै नेताहरू बाबुरामसँग निरन्तर संवादमा रहे पनि अन्तिम समयमा बाबुरामले कांग्रेसलाई रोजेपछि उनीहरूका लागि यो निर्णय अप्रत्याशित बनेको छ । बाबुरामको यो रणनीतिक समर्थनले गोरखामा पुराना र नयाँ शक्तिबीचको प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।
राजनीतिक विश्लेषकहरूले बाबुरामको यो कदमलाई आफ्नो अस्तित्व रक्षा र भावी राजनीतिक समीकरणको सुरक्षित अवतरणका रूपमा हेरेका छन् । गोरखामा बलियो पकड राख्ने भट्टराईको समूहले कांग्रेसलाई सघाउने भएपछि विपक्षी दलहरूले आफ्नो चुनावी रणनीति पुनः समीक्षा गर्नुपर्ने स्थिति सिर्जना भएको छ । फागुन २१ को नतिजाले बाबुरामको यो ‘ट्रान्सफर’ भएको मत कत्तिको प्रभावकारी रह्यो भन्ने पुष्टि गर्ने नै छ ।



