काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न निर्वाचनको परिणामलाई स्वीकार गर्दै मतदाता र समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उनले लोडसेडिङ अन्त्य जस्ता ठोस काममार्फत जनताको मन जित्न सफल भए पनि चुनावी मत परिणाममा त्यसको प्रतिविम्ब देखिन नसकेको बताएका हुन्।
निर्वाचनपछि आफ्नो प्रतिक्रिया दिँदै घिसिङले यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यता विरुद्धको जनआवाज भएको उल्लेख गरे। उनले देशलाई केवल नाराले मात्र नभई स्पष्ट दृष्टिकोण, योजना र ठोस कार्यसम्पादन गर्न सक्ने नेतृत्वको खाँचो रहेकोमा जोड दिए। आफ्नो कार्यकालमा विद्युत् पहुँच ५८ प्रतिशतबाट ९९ प्रतिशत पुर्याएको र देशलाई विद्युत् निर्यातकर्ता बनाउन सफल भएको अनुभव सुनाउँदै उनले विकासको गतिहीनता र अलपत्र योजनाहरूलाई अबको नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेको र समानुपातिकमा पनि निराशाजनक मत पाएको सन्दर्भमा घिसिङले यस हारलाई ‘प्राविधिक विषय’ मात्र भएको टिप्पणी गरे। उनले भने, “छोटो समयमै जनअभिमतमार्फत प्राप्त माया, विश्वास र सद्भाव हाम्रो पार्टीका लागि ऊर्जा र मार्गदर्शन बनेको छ। हामी परिणामबाट निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त भएर लाग्नेछौँ।”
साथै, उनले भारी जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिँदै जनताको परिवर्तन र समृद्धिको आकांक्षा पूरा गर्न सफल बन्न कामना गरे। उनले सरकारका राम्रा कामको समर्थन गर्ने र गलत कार्य भएमा सडकबाट रचनात्मक खबरदारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



