गैंडाकोट (चितवन ) । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गको गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै गुडिरहेका बस, ट्रक र हात्तीगाडी एकापसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान करिब ६:४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेका बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनवटै सवारीसाधनका चालकसहित बसमा सवार ९ जना यात्री घाइते भएका छन् ।
घाइतेहरूको उपचार चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडकलाई प्रहरीले क्षतिग्रस्त सवारीसाधन हटाएर अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याएको छ ।



