काठमाडौँ । मुलुकमा बढ्दो इन्धन संकटलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले सरकारी कार्यालयहरूको कार्यसमयमा परिवर्तन गरेको छ ।
अबदेखि शिक्षण संस्थाबाहेकका सबै सरकारी निकायहरू बिहान ९ बजेदेखि नै सञ्चालनमा आउने भएका छन् । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित पेट्रोलियम पदार्थको अभावलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले हप्तामा दुई दिन बिदा दिने र बाँकी दिन कार्यालय समय बढाउने निर्णय गरेको हो । यस सम्बन्धी सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकले पनि सरकारको निर्णयसँग मेल खाने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय खुला रहनेछन् ।
यद्यपि, जाडोयामलाई लक्षित गर्दै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र कायम हुने गरी परिपत्र जारी गरिएको छ ।



