जनकपुर र पर्सा । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई महत्त्वपूर्ण खेलहरू सञ्चालन हुँदैछन् ।
मधेश प्रदेशको जनकपुरमा हुने पहिलो खेलमा अहिलेको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको सुदूरपश्चिम प्रदेशबीच कडा प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट ११ अङ्क जोडेको आर्मी र ७ खेलबाट १० अङ्क बटुलेको सुदूरपश्चिम दुवैका लागि यो खेल फाइनल यात्राका निम्ति निर्णायक मानिएको छ ।
यसैगरी, पर्सामा हुने अर्को खेलमा कर्णाली प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्दैछ । जारी प्रतियोगितामा ३ अङ्कका साथ तालिकाको नवौँ स्थानमा रहेको कर्णालीका लागि बलियो पुलिस क्लबलाई हराउनु ठुलो चुनौती हुनेछ । ६ खेलबाट ७ अङ्क बटुलेको पुलिस क्लब भने चौथो स्थानमा रहेकाले आफ्नो स्थिति सुधार्ने दाउमा छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै मैदानमा खेलहरू बिहान ९ बजेदेखि सुरु भएका छन् ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीहरू ‘सिंगल राउन्ड रोबिन’ आधारमा भिडिरहेका छन् । यसअघिका सबै संस्करणहरू विभागीय टोलीहरूले मात्र जितेको इतिहास छ, जसमा नेपाल पुलिस क्लबले सर्वाधिक ४ पटक उपाधि जितेको छ । यस वर्षको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।



