जनकपुर । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा महत्वपूर्ण खेलहरू सञ्चालन हुँदैछन् ।
बिहान ९ बजेदेखि सुरु हुने आजका खेलहरूमा साविक विजेता नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा प्रतिस्पर्धा हुनेछ भने गण्डकी र लुम्बिनी प्रदेशबीच पर्सामा भिडन्त हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
हाल तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको ८ खेलबाट १० अंक छ भने एक खेल कम खेलेको पुलिस ९ अंकका साथ तेस्रो स्थानमा छ ।
पर्सामा हुने अर्को खेलमा सातौँ स्थानको लुम्बिनी र आठौँ स्थानको गण्डकी मैदान उत्रनेछन् । लुम्बिनीको ६ खेलबाट ७ अंक र गण्डकीको ७ खेलबाट ५ अंक रहेको छ । सिंगल राउण्ड रोबिनका आधारमा जारी यस प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टिम सहभागी छन् ।
पीएम कपको इतिहासमा अहिलेसम्म विभागीय टोलीले मात्र उपाधि उचालेका छन्, जसमा नेपाल पुलिस क्लबले सर्वाधिक ४ पटक जित हासिल गरेको छ । यस पटकको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



