Khaptad Organic Nepal

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सङ्घीय संसदमा सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् बैठकमा आर्थिक वर्ष २०८२/८३ को विवरण पेश गर्दै विश्वव्यापी आर्थिक अस्थिरता र क्षेत्रीय तनावका बीच पनि नेपालका प्रमुख आर्थिक सूचकहरू सकारात्मक दिशामा अघि बढेको जानकारी दिनुभयो । उहाँले सामाजिक क्षेत्रका उपलब्धिहरू पनि सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो ।

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने सरकारी अनुमान छ । विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण भइरहँदा नेपालको यो प्रगतिलाई उत्साहजनक मानिएको छ । समीक्षा अवधिमा नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर कायम हुने प्रतिवेदनमा उल्लेख छ । प्रादेशिक रूपमा हेर्दा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा राम्रो देखिए पनि बाँकी प्रदेशहरू भने पछि परेका छन् ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको हिस्सा २४ प्रतिशत र गैरकृषि क्षेत्रको हिस्सा ७६ प्रतिशत रहने देखिएको छ । देशको आर्थिक गतिविधिमा बागमती प्रदेशको भूमिका सबैभन्दा बलियो छ जसले जीडीपीमा एक्लै ३६.७ प्रतिशत योगदान दिएको छ । यद्यपि मुलुकको मुख्य बाली धानको उत्पादनमा भने यस वर्ष ४.२० प्रतिशतले ह्रास आई ५७ लाख ५ हजार मेट्रिक टनमा खुम्चिएको छ ।

अर्थमन्त्री वाग्लेका अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्ममा सङ्घीय राजस्व सङ्कलनमा ३.२ प्रतिशतको वृद्धि भएको छ । सरकारी खर्चमा १०.४ प्रतिशतले बढोत्तरी भए पनि विकास निर्माणसँग जोडिने पूँजीगत खर्चमा भने खासै सुधार आउन सकेको छैन । हाल सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो । सरकारले यसै आर्थिक वर्षमा मात्रै ३ खर्ब रुपैयाँ ऋण थपेको छ ।

पूँजीगत खर्च कमजोर रहे पनि देशको बाह्य आर्थिक अवस्था भने निकै सुदृढ देखिएको छ । समीक्षा अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति पनि ऐतिहासिक उचाइमा पुग्दै ३४ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ । यो रकमले साढे १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएको छ । तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुग्नुलाई अर्थतन्त्रको मुख्य चुनौतीको रूपमा हेरिएको छ ।

डिजिटल भुक्तानीका क्षेत्रमा नेपालले ठूलो फड्को मारेको सर्वेक्षणले देखाउँछ । फागुनसम्ममा क्यूआर कोडमार्फत मात्रै १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय क्रेडिट रेटिङमा नेपालले ‘बीबी-‘ स्टेबल आउटलुक पाउनुले विश्व बजारमा नेपालको साख बढेको पुष्टि गर्छ । हाल बजारमा औसत महँगी दर २.१३ प्रतिशत रहेकाले मुद्रास्फीति नियन्त्रणमै रहेको सरकारको दाबी छ ।

मानव विकास र सामाजिक सूचकहरूमा पनि मुलुकले सुधार गरेको छ । नेपालको मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रतिलाख १५१ र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । शिक्षामा आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा सर्वसाधारणको सहभागिता लगातार बढिरहेको सर्वेक्षणमा उल्लेख छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।