Khaptad Organic Nepal

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सरकारले वर्गीकरण गरी मासिक रूपमा उपचार खर्च वितरण गर्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार, अस्पताल भर्ना भएको रेकर्डलाई आधार मानेर घाइतेहरूको वर्गीकरण गरिएको हो र सोही आधारमा गृह मन्त्रालयमार्फत मासिक आर्थिक सहायता उपलब्ध गराउन थालिएको हो ।

सरकारले निर्धारण गरे अनुसार अति गम्भीर घाइते र उनीहरूको कुरुवा वा स्याहारसुसार गर्ने व्यक्तिले जनही ९-९ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको छ । सामान्य घाइते भएकाहरूलाई भने मासिक भत्ताको व्यवस्था गरिएको छैन । यद्यपि, आन्दोलनमा घाइते भएका सबै नागरिकलाई सरकारले यसअघि नै एकमुष्ट ३५ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ ।

पाँच सय ३९ घाइतेको वर्गीकरण सम्पन्न

गृह मन्त्रालयले जारी गरेको परिचयपत्रका आधारमा स्वास्थ्य मन्त्रालयले हालसम्म ५ सय ३९ जना घाइतेहरूको पहिचान र वर्गीकरण गरिसकेको छ । पाँच चरणमा गरिएको यो वर्गीकरणको काम पूर्ण रूपमा सकिएको डा. बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयको अन्तिम तथ्याङ्क अनुसार घाइतेहरूमध्ये अति गम्भीर अवस्थाका २९ जना, गम्भीर प्रकृतिका १३० जना, मध्यम घाइते ८५ जना र सामान्य चोटपटक लागेका २९५ जना रहेका छन् ।

Share.
Bhoj Bhagirathi Trust