काठमाडौँ । सनातन धर्मावलम्बीहरूले आजदेखि चार महिनासम्म चल्ने विशेष आराधना र उपवासको विधिवत् सुरुवात गरेका छन् ।
आषाढ शुक्ल एकादशीका दिन आज घरघरमा ज्येष्ठ शुक्ल एकादशीमा राखिएको तुलसीको दल (बिरुवा) मोठमा सारेर यो पर्व मनाइँदैछ । वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको रूपमा पूजिने हुनाले आजदेखि कार्तिक शुक्ल एकादशीसम्म यसको विशेष हेरचाह र पूजा आराधना गर्ने गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास गरिने हुनाले यस दिनलाई हरिशयनी एकादशी र यो चार महिनाको अवधिमा गरिने धार्मिकविधिलाई चतुर्मासा भनिन्छ ।
वर्षभरि पर्ने २४ एकादशीमध्ये चतुर्मासाका आठ एकादशीलाई विशेष मानिन्छ । चतुर्मासाभरि व्रत बस्न नसक्नेहरूले हरिशयनी र हरिबोधिनी एकादशीका दिन मात्र फलाहार गरेर व्रत बस्ने गर्छन् । यस अवसरमा बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु मन्दिरहरूमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ । आजका दिन विशेष गरी चामल वा अन्नबाट बनेका परिकार नखाई रोटी, ढिँडो र फलाहार सेवन गर्ने परम्परा छ ।
धार्मिक महत्त्वका अतिरिक्त तुलसीको वैज्ञानिक र वास्तुशास्त्रीय महत्त्व पनि उत्तिकै रहेको छ । प्रशस्त अक्सिजन दिने तुलसी औषधीय गुणले युक्त मानिन्छ । तुलसीको मोठ आसपास विषालु कीटाणु नआउने, वास्तु दोष निवारण हुने र वातावरण स्वच्छ रहने भएकाले पनि यसको नियमित पूजा र संरक्षणलाई विशेष प्राथमिकता दिइँदै आइएको छ । आज सारिएको तुलसीलाई चार महिनापछि हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गराएर अग्निस्थापना विधिमार्फत चतुर्मासा व्रतको समापन (उद्यापन) गर्ने गरिन्छ ।

