काठमाडौँ । देशभर मनसुनी प्रणालीको प्रत्यक्ष प्रभाव रहेकाले आज धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास अवस्थित छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा पूर्ण बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशमा भने आंशिक बदलीको अवस्था छ । यतिबेला लुम्बिनीका पहीलो लहरका केही स्थान तथा अन्य प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका धेरै ठाउँमा अनि अन्य प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा वर्षा हुनसक्छ । विशेष गरी कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भेगका थोरै स्थान र तराईका एक-दुई ठाउँमा मध्यम वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

