काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपाल नजिकै अवस्थित छ ।
यसका कारण दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको भनाइ छ । विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रका साथै कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको अनुमान गरिएको छ ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा भारी वर्षाको जोखिम छ भने कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

