काठमाडौँ । बिहीबार देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँके र दाङसहित तराईका धेरै भू-भागमा हुस्सु तथा तुवालो देखिएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भेगका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा नै रहने महाशाखाले उल्लेख गरेको छ ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्यत्र मौसम मुख्यतया सफा रहने जनाइएको छ । भोलि बिहानतिर उपत्यका र खोँचहरूका साथै तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

