कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित बाढीबाट जोगाउन आधुनिक जल सतर्कता निगरानी प्रणाली विस्तार गरेको छ ।
महाकाली नदीको चार लेन खण्ड तथा जोगबुडा नदीको बाबाथान–कञ्चभोज पुल आसपास प्रत्यक्ष निगरानी उपकरण जडान गरिएपछि बाढीको अवस्थाबारे तत्काल जानकारी लिन सहज भएको छ ।
पुराना पूर्वसूचना प्रणालीलाई अझ भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यसहित यी उपकरण राखिएको नगरपालिकाले जानकारी दिएको छ । प्रविधिको सहयोगमा नदीको बहाव र जलस्तरको वास्तविक अवस्था थाहा पाउन सकिने भएकाले मानवीय तथा भौतिक क्षति घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
विपद् व्यवस्थापन र पूर्वतयारीलाई बलियो बनाउँदै सुरक्षित पालिका निर्माण गर्ने अभियानअन्तर्गत यो कदम चालिएको नगरपालिकाको भनाइ छ ।

