काठमाडौँ, ९ फागुन । निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्की आज लुम्बिनी पुगेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आजै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गरी मुलुकमा शान्तिपूर्ण निर्वाचनको सफलताका लागि कामना गरेकी छन् ।
लुम्बिनी पुग्नुअघि आज बिहान बुटवलमा प्रधानमन्त्री कार्कीले लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरू तथा निर्वाचनसँग सम्बन्धित अधिकारीहरूसँग बैठक गरेकी थिइन् । उक्त अवसरमा उनले निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएकी थिइन् ।
सुरक्षा ब्रिफिङपश्चात् लुम्बिनी पुगेकी प्रधानमन्त्रीले मायादेवी मन्दिर र आसपासको क्षेत्रको अवलोकन गरिन् । त्यस क्रममा उनले त्यहाँ आएका अन्य दर्शनार्थी तथा स्थानीय बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रियासमेत गरेकी थिइन् ।
सो अवसरमा स्थानीय सर्वसाधारणले मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भन्दै प्रधानमन्त्रीलाई फूल दिएर शुभकामना व्यक्त गरेका थिए ।



