सर्लाही । निर्वाचनको तयारीमा जुटेका बेला सर्लाहीको एक मतदान केन्द्रमा खटिएका अधिकृतले ज्यान गुमाएका छन् ।
पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको (क) केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतोको अचानक स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । रौतहटको माधवनारायण नगरपालिका–६ स्थायी घर भएका महतो सर्लाहीकै बरहथवा नगरपालिका–५ को आधारभूत स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको रूपमा कार्यरत थिए ।
प्रहरीले दिएको जानकारी अनुसार, मतदान केन्द्रमा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा महतो अचानक बेहोस भई ढलेका थिए । उनलाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको भए तापनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् र मृत घोषणा गरे । मतदान अधिकृतको असामयिक निधनले उक्त क्षेत्रमा खटिएका अन्य कर्मचारी र स्थानीयमा गहिरो शोक छाएको छ ।


