काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र आचारसंहिता विपरीतका गतिविधि रोक्न सुरक्षा निकायले आफ्नो सक्रियतालाई चरम सीमामा पुर्याएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा सादा पोसाकमा समेत ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएर निगरानी बढाइएको छ । सम्भावित धाँधली र अवाञ्छित क्रियाकलाप रोक्न राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिइएको छ ।
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार फिल्डमा मात्र नभई सामाजिक सञ्जालमा हुने आचारसंहिता विरोधी गतिविधिमाथि पनि विशेष निगरानी राखिएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन उपत्यकाका हरेक क्षेत्रमा एसपी र उपत्यका बाहिरका क्षेत्रमा डिएसपीलाई कमान्डर तोकेर खटाइएको छ । गृह मन्त्रालयले कुनै पनि पक्षधरता नलिई कारबाही गर्न सिडिओ र सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजनाका कारण अहिलेसम्म राजनीतिक हिंसा रोक्न सफल भएको बताउनुभएको छ । उहाँले सुरक्षा निकायको परिचालन विगतभन्दा बलियो रहेको र निर्वाचन विरोधी समूहमाथि कडा निगरानी भइरहेको उल्लेख गर्नुभयो । यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मतदानस्थलमा कुनै पनि अवरोध सिर्जना भए कानुनअनुसार बल प्रयोग गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ ।



