काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण केही समयअघि स्थगित गरिएको श्रम स्वीकृतिलाई मन्त्रालयले परिमार्जन गर्दै पुनः सुरु गरेको हो ।
मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ , नेपाली दूतावासहरू र स्वयं श्रमिकहरूबाट पुनः श्रम स्वीकृति खुलाउन निरन्तर माग भएपछि यो नयाँ निर्णय लिइएको हो । परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मंगलबार यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।
नयाँ निर्णय अनुसार साउदी अरेबिया , यूएई , कतार , ओमान , यमन , जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउनेछन् । यी देशहरूबाट बिदामा नेपाल आएका र पुनः रोजगारीमा फर्किन चाहनेहरूका लागि बाटो खुलेको छ ।
यद्यपि , सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इरान , इजरायल , बहराइन , कुवेत , इराक र लेबनानका लागि भने पुनः श्रम स्वीकृति अझै खुला गरिएको छैन । यी देशहरूमा जाने श्रमिकहरूले अर्को सूचना नआएसम्म कुर्नुपर्नेछ ।
यसअघि मन्त्रालयले पश्चिम एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै व्यक्तिगत तथा संस्थागत दुवै किसिमका श्रम स्वीकृति स्थगन गरेको थियो । अहिलेको यो खुकुलो व्यवस्थाले हजारौँ नेपाली श्रमिकहरूलाई आफ्नो कार्यस्थलमा फर्किन सहज हुने अपेक्षा गरिएको छ ।
कुन देशका लागि खुल्यो श्रम स्वीकृति ? (एक नजरमा)
| श्रम स्वीकृति खुलेका देशहरू | अझै रोकिएका देशहरू |
| साउदी अरेबिया | इजरायल |
| संयुक्त अरब इमिरेट्स (यूएई) | इरान |
| कतार | कुवेत |
| ओमान | बहराइन |
| जोर्डन | इराक |
| टर्की | लेबनान |
| यमन |



