काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आठौँ संस्करण औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन जनकपुरमा कोशी र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने पर्सामा लुम्बिनी र कर्णाली प्रदेश आमनेसामने हुनेछन् ।
यसपटक क्यानले काठमाडौँको मूलपानी (तल्लो र माथिल्लो) मैदानका साथै जनकपुर र पर्सा गरी चारवटा स्थानमा खेलहरू सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी , पुलिस र एपीएफ) गरी कुल १० टोलीको सहभागिता रहनेछ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा हुने यस खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
हालसम्मको इतिहासमा विभागीय टोलीको मात्र वर्चस्व रहेको यस प्रतियोगितामा नेपाल पुलिस क्लबले सबैभन्दा धेरै ४ पटक उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन पुलिससँगै आर्मी र एपीएफले पनि २-२ पटक यो कप उचालेका छन् । आगामी वैशाख ४ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।



