ललितपुर । ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक जना महिला कामदारको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा परी रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो ।
पर्खालले थिचिएर घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन् । उनीहरू सबै इट्टाभट्टामा कार्यरत कामदार हुन् ।
घटनालगत्तै उद्धार गरी घाइतेहरूलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कार्यस्थलमा सुरक्षा मापदण्ड र भौतिक संरचनाको अवस्थाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।



