काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया निष्कर्षमा पुग्न नसकेपछि भोलि पुनः बैठक बस्ने भएको छ ।
आज सम्पन्न बैठकमा नेता छनोटका विषयमा ठोस सहमति जुट्न नसकेपछि छलफललाई निरन्तरता दिने निर्णय गरिएको हो । सहमहामन्त्री एवं निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइलीका अनुसार दलको नेता छान्नका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ र भोलिको बैठकमा आकांक्षीहरूसँग सघन छलफल गरिनेछ ।
हालसम्म संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीले सकेसम्म सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गरिरहेको बुझिएको छ ।
निर्वाचन समितिका संयोजक रसाइलीले भोलिको छलफलबाट सहमतिको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् ।



