काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबारमा नयाँ सीमा र सर्किट ब्रेकरको व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डको सहमतिमा ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएपछि नेप्सेले सोमबारदेखि नै यो नयाँ नियम लागू गर्न सबै सदस्य दलालहरूलाई निर्देशन दिएको हो ।
अबदेखि कुनै पनि सूचीकृत कम्पनीको सेयर मूल्यमा एकै दिन १५ प्रतिशतसम्मको उतारचढाव हुन पाउनेछ । यसअघि यस्तो सीमा १० प्रतिशतमा मात्रै सीमित थियो । यसका साथै परिसूचकमा हुने उतारचढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकरको समय र प्रतिशतमा पनि परिवर्तन गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सोही दिन परिसूचक ८ प्रतिशतले घटबढ भएमा भने उक्त दिनको बाँकी सबै कारोबार पूर्ण रूपमा बन्द गरिने प्रावधान राखिएको छ ।



