काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज एसियाली क्षेत्रको प्रतिष्ठित प्रतियोगिता एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा लाओसको सामना गर्दैछ ।
लाओसको घरेलु मैदान भियन्टियानस्थित लाओ राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुने तालिका रहेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताको अघिल्लो चरणको दौडबाट बाहिरिइसकेका कारण आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
यस खेलमार्फत नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले आफ्नो पहिलो डेब्यु खेल खेलाउँदै छन् । स्वीट्जरल्यान्डका एरेनाको नेतृत्वमा नेपाली टोली कस्तो लयमा मैदान उत्रनेछ भन्नेमा सबैको चासो रहेको छ । प्रशिक्षक एरेनाले किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय बलियो टोली छनोट गरेका छन् ।
समूहमा नेपाल र लाओस दुवैले ५–५ खेल खेलिसक्दा समान ३–३ अङ्क जोडेका छन् । आजको खेलले समूहको अन्तिम वरीयता निर्धारण गर्नेछ । नेपाली टोलीमा कप्तान किरणसँगै रोहित चन्द, अनन्त तामाङ र आयुष घलान जस्ता अनुभवी खेलाडीहरूको साथ रहनेछ ।



