काठमाडौँ । देशभरका माध्यमिक तहका विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि देशभर एकसाथ सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को यस अन्तिम परीक्षाका लागि आवश्यक सम्पूर्ण भौतिक तथा प्रशासनिक तयारीहरू सम्पन्न भइसकेको पुष्टि गरेको छ ।
यस पटकको परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४२१ जना परीक्षार्थीहरू सम्मिलित हुँदैछन् । सहभागी विद्यार्थीहरूको विवरण अनुसार २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र र अन्य ७ जना परीक्षार्थीहरू रहेका छन् ।
नेपाल बाहेक जापानको एभरेस्ट स्कुलमा समेत परीक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको छ, जहाँबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् । कार्यालयका अनुसार जापानको केन्द्रसहित देशभर कुल १ हजार ९६६ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।
निर्धारित तालिका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिनेछन् । त्यसैगरी, चैत्र २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुनेछ ।
परीक्षाको अन्तिम तालिका अनुसार चैत २९ गते आइतबारसम्म सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस पटक एसइई परीक्षा करिब १२ दिन ढिलो गरी सुरु हुन लागेको हो ।



